कला प्रशिक्षणका ३६ औं समूहका प्रशिक्षार्थी “दीक्षान्त समारोह” सम्पन्न
२५ साउन २०८३ काठमाडौँ ।
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सिर्जनशील कलाको व्यावहारिक ज्ञान प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानद्वारा सञ्चालित कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३६ औं समूहका प्रशिक्षार्थी “दीक्षान्त समारोह – २०८३” संस्थानको मेगा प्रेक्षालय जमल काठमाडौँमा सम्पन्न गरिएको छ । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा प्रमुख श्री डा.सुरेश सुरस श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थानका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । संस्थानले हरेक आ.व.मा ६/६ महिने गायन, वादन, नृत्य र नाटक विधामा प्रशिक्षण क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ भने आ.व.२०८२/०८३ देखि नयाँ विधाहरू गीत रेकर्डिङ प्राविधिक तथा हार्मोनियम विधा थप गरेर सञ्चालन गर्दै आएको छ ।




कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य राख्नुहुँदै भन्नुभयोः–
“अभौतिक सांस्कृतिक सम्पदा संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि सिर्जनशील कलाको व्यावहारिक ज्ञान प्रवाह गर्ने उद्देश्यका साथ सञ्चालित संस्थानको कला प्रशिक्षण कार्यक्रमको दीक्षान्त समारोहमा कार्यक्रमको प्रकृति अनुसार प्रमुख अतिथि अभौतिक सांस्कृतिक सम्पदाको ज्ञाता, नेपालको परिवेशमा अभौतिक सांस्कृतिक सम्पदाको स्पष्ट राज्यनीति बन्नु पर्दछ भनेर अहोरात्र खटिनुहुने महान् व्यक्तित्व तथा संस्कृतिविद् डा.सुरेश सुरस श्रेष्ठ ज्यू लाई पाउनु नै समारोहले सार्थकता प्राप्त गरेको बताउनु हुँदै प्रमुख अतिथि ज्यू प्रति आभार प्रकट गर्नुभयो । उहाँले दीक्षित हुनुहुने प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुहुँदै कला प्रशिक्षणबाट सिकेको सिर्जनशील कला सम्बन्धी ज्ञान तथा सीपलाई आफ्नो व्यावहारिक जीवनमा लाभदायक बनाउन, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्न र कलाको माध्यमबाट समाज जागरण सहित सभ्य राष्ट्र निर्माणका लागि समर्पण गर्नुहुन अनुरोध गर्नुभयो । उहाँले कार्यक्रमको प्रकृति अनुसार संस्थानका प्रशिक्षार्थीलाई संस्थानका नीति तथा कार्यक्रममा समेट्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुहुँदै त्यसका लागि प्रशिक्षार्थीमा यहाँबाट हासिल गरेको कलात्मक ज्ञानलाई नैतिक संस्कृतिको रूपमा ग्रहण गरी सभ्य एवम् शिष्टाचारयुक्त हुनु अपरिहार्य रहेको बताउनु भयो । प्रशिक्षण कार्यक्रममालई थप प्राज्ञिक एवम् वैज्ञानिक बनाउत नीतिगत रूपमा सुदृढीकरण गर्न प्रमुख अतिथिज्यूको विशेष पहलको लागि अनुरोध समेत गर्नुभयो । साथै, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक निर्माणका लागि अतुलनीय भूमिका निर्वाह गर्नुभएकोमा प्रमुख अतिथिज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।”



कार्यक्रममा प्रमुख अतिथि श्री डा.सुरेश सुरस श्रेष्ठज्यूले मन्तव्य मार्फत भन्नुभयोः– “अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सीपको पुस्तान्तरण गर्न कला प्रशिक्षण मार्फत संस्थानले खेलेको अतुलनीय भूमिका प्रति आभार प्रकट गर्नुहुँदै अभौतिक सांस्कृतिक सम्पदा विषयक नवजागरणमूलक संक्षिप्त धारणा राख्नुभयो । उहाँले संस्थान राष्ट्रिय नाचघरको रूपमा इतिहासकालदेखि सम्पदा कार्यान्वयन गर्ने स्थलको रूपमा प्रचलित भएकाले यसको गरिमा बचाउन चिन्तन गर्नुपर्ने बताउनु भयो । संस्थानको वर्तमान नेतृत्वले संस्थानको अभिभारालाई न्यायिक ढंगले बोध गर्दै सोही बमोजिम नीति तथा कार्यक्रम सम्पन्न गर्दै आएको, अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरणका लागि विशेष भूमिका निर्वाह गर्दै तालुक मन्त्रालयको समेत गरिमा कायम राख्न सफल भएकोमा बधाई व्यक्त गर्नुभयो । साथै, उहाँले प्रशिक्षार्थीलाई दीक्षित गर्नुहुँदै प्रमाण पत्र वितरण सहित बधाई तथा उज्ज्वल भविष्यको कामना गर्नुभयो ।”


कार्यक्रम सञ्चालन प्रशिक्षण इकाई प्रमुख श्री विपिन घिमिरेज्यूले गर्नुभएको थियो भने कार्यक्रम संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो । कार्यक्रममा ३६ औं समूहका प्रशिक्षार्थीहरूद्वारा गायन, वादन, नृत्य समाहित गरी सामूहिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो भने सङ्गीत संयोजन संस्थानका वाद्यवादन शाखा संयोजक श्री दुर्गा प्रसाद खतिवडाज्यूले गर्नुभएको थियो ।













































































































