दिगो पर्यटन परियोजनाका लागि सांस्कृतिक संस्थानको समूह मनास्लु प्रस्थान
२९ कार्तिक २०८३ काठमाडौँ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना [Sustainable Tourism Project - STP] का लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास सम्बन्धी कार्यसम्पादन गर्न सांस्कृतिक संस्थानका कलाकारहरू संवत् २०८३ साल कार्तिक २७ गते मनास्लु प्रस्थान गर्नुभएको छ । सहभागी हुनुहुने कलाकारहरूलाई जिम्मेवारी प्रदान गर्नुहुँदै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले शुभयात्राको कामना सहित प्रभावकारी कार्यसम्पादनको लागि निर्देशन दिनुभएको छ ।

दिगो पर्यटन परियोजना [Sustainable Tourism Project - STP] का लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास गर्न संस्थान साझेदार संस्था (Implementation Partner) को रूपमा रहनेगरी संवत् २०८३ साल साउन १३ गते सम्झौता गरिएको थियो । समझदारी पत्रमा दिगो पर्यटन परियोजनाको तर्फबाट राष्ट्रिय परियोजना निर्देशक श्री हिकमत सिंह ऐर ज्यू, संयोजक श्री खड्ग विक्रम शाह ज्यू र प्रबन्धक श्री धर्मराज दवाडी ज्यू तथा संस्थानको तर्फबाट महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले हस्ताक्षर गर्नुभएको थियो ।

मनास्लुका लागि संस्थानका कलाकार श्री रोहित सुवेदीज्यूको नेतृत्वमा कलाकारहरू श्री नरेश प्रजापति ज्यू र श्री विपिन घिमिरे ज्यू सम्मिलित ३ सदस्यीय समूह प्रस्थान गरेको हो । यसअघि सम्झौता बमोजिम लुम्बिनी र जनकपुरको कार्यक्रम सम्पन्न गरिएको छ भने आगामी दिनमा अन्य २ ठाउँमा कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमको सहजीकरण संस्थानका कलाकार तथा आयोजना सम्पर्क/गुनासो समाधान संयोजक श्री रोहित सुवेदीज्यूले गर्नु हुनेछ ।

